नेपालगञ्ज। औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाको लागि जग्गा अपुग भएको छ । नयाँ उद्योग स्थापनाको लागि कार्यालयमा जग्गा माग हुँदै आए पनि खाली जग्गा अपुग भएको हो।
नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनलेले माग भएअनुसार जग्गा उपलब्ध गराउन नसकिएको बताए। पुनका अनुसार नेपालगन्ज औद्योगिक क्षेत्रमा अहिले ३५ उद्योग सञ्चालनमा छन् ।
२३३ रोपनी जग्गामा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका सबै उद्योग सुचारु छन्।
नेपालगञ्जको बीच बजारमा रहेको औद्योगिक क्षेत्र सुरक्षा र सुविधाका दृष्टिकोणले उपयुक्त रहेकाले नयाँ उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीको आकर्षणमा पर्ने गरेको छ ।
नेपालगन्ज औद्योगिक क्षेत्रमा पाइप निर्माण गर्ने, प्लास्टिक उद्योग, प्लाई उद्योग, मेटल उद्योग र पानी उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् । यहाँ रहेको विनोद मेटल उद्योग र विजय मेटल उद्योगबाट उत्पादन हुने चरेशका थालहरू तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको छ ।