फाइल तस्बिर
मोरङ। विराटनगर महानगरपालिका–६ मा निर्माणाधीन कल्भर्टको विषयमा चासो राख्ने स्थानीयलाई निर्माण व्यवसायीले दुर्व्यवहार गरेका छन्।
अपारदर्शी ढंगबाट निर्माण भइरहेको कल्भर्टको पारदर्शीता प्रष्ट्याउन आग्रह गर्दा निर्माण व्यवसायी ऋषि गौतमले स्थानीयलाई गालीगलौज र दुर्व्यवहार गरेका हुन्।
काममा पारदर्शीता खोज्दा निर्माण व्यवसायी गौतमले गालीगलौज र दुर्व्यवहार गरेको स्थानीयको भनाइ छ। एक स्थानीयले भने, ‘कल्भर्ट र नाला निर्माणका नाममा लामो समयदेखि बाटो अवरुद्ध छ। योजनासँग सम्बन्धित सार्वजनिक सूचना बोर्ड पनि राखिएको छैन। योजनाको पारदर्शीता खोज्न थालेपछि स्थानीय माथि आक्रोस पोख्ने काम भयो। ठेकेदार गौतम एक्कासि गालीगलौज र दुर्व्यवहारमा उत्रनु भयो।’
विकास निर्माणमा ठेकेदारको लापरबाही देखिएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार कल्भर्ट निर्माण सुरु भएसँगै २ महिनादेखि त्यहाँको बाटो अवरुद्ध छ। एम्बुलेन्स, शैक्षिक संस्थालगायतका सवारीसाधन सञ्चालनमा अवरोध पुगेको छ। वैकल्पिक बाटो पनि भत्किएको र भ्यावङ परेकाले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको स्थानीय एक युवाले बताए। उनका अनुसार गुणस्तरहीन काम भइरहेको आशंका गर्दै त्यसका बारेमा प्रष्ट पार्नुपर्ने र जतिसक्दो चाँडो काम सकेर सडक सुचारु गर्नुपर्ने माग स्थानीयले गरेका छन्।
विराटनगर–६ का वडाध्यक्ष विजय कामत दुर्व्यवहार र गालीगलौज घटनाका प्रत्यक्षदर्शी हुन्। उनले सबै मिलेर विवादको समाधान गरिसकिएको बताए। कामतका अनुसार विराटनगर महानगरपालिकाको ३० लाख बजेटबाट दुईवटा कल्भर्ट तथा नाला निर्माण र ग्राभेलिङको काम भइरहेको छ।
ठेकेदार गौतमले भने अबको १५ दिनभित्रमा काम सकिने बताएका छन्। उनले आफूले कसैमाथि पनि गालीगलौज रदुर्व्यवहार नगरेको बताए। नबुझिकन बोल्न थालेपछि कुरो स्पष्ट बनाउन खोज्दा बोली चर्को भएको उनको भनाइ छ।
स्राेत: अन्नपूर्णपाेष्ट