काठमाडौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी समयमै वितरण गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन्। मन्त्री चौधरीले आगामी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका हुन्।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरूङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा आइपुगेपछि प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरूलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिएका हुन्।
उनले भने, ‘वैशाखमा कुनै हालतमा पानी आउँदैन भन्थे, गत वर्ष असार १ गतेको बाढीले मेलम्चीको मुहानमा ठूला ठूला ढुंगा आएको थियो, नेपाली सेनाको समेत सहयोग लिएर अवरोध पन्छाइ चैतमै पानी काठमाडौंतर्फ पथान्तरण गरियो, घर–घरमा धारामा पानी झरेपछिमात्र पथान्तरणको अर्थ हुन्छ, यसैले वैशाख ११ गते धारामा पानी वितरण गर्ने गरी प्रशोधनलगायत वितरण प्रणालीका काम गर्नुस्।’
संविधानमा स्वच्छ खानेपानी र सफाइको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई बञ्चित नगर्न मन्त्री चौधरीले निर्देशन दिए।
काठमाडौं उपत्यकाका १० वटै पानीपोखरीबाट समानुपातिक रूपमा पानी वितरण गर्न उनले आह्वान गरे।