काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विद्युतीय स्कुटर बनाएको छ। नास्टले एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनाएको हो।
लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा बनाइएको विद्युतीय स्कुटरको आज दिउँसो ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले संयुक्त रुपमा उदघाटन गर्दैछन्।
पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भइरहेको बेला नेपाली माटो सुहाउँदो नमूना स्कुटर निर्माण गरिएको बताइएको छ।
स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ। ब्याट्रीको क्षमता बढाउन पनि सकिन्छ। ब्याट्री र मोटरको क्षमता बढाउँदा ५० किलोमिटर भन्दा पनि बढी गुड्न सक्छ।
एउटा नमूना स्कुटर बनाउन तीन लाख रुपैयाँ भन्दा बढी खर्च भएको बताइएको छ। ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम एक लाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्ममा विद्युतीय स्कुटर बनाउन सकिने अनुमान गरिएको छ।