काठमाडौं। काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको छ। खानेपानी लिमिटेडले मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणका लागि आवश्यक तयारी पूरा गरेको हो।
मेलम्चीको पानी आइतबार बिहानसम्ममा महाँकालचौरमा आइपुग्ने बताइएको छ। गत वर्षको अनुभवका आधारमा पानी वितरण गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए।
उनका अनुसार गत वर्ष वितरण हुन नसकेका ठाउँमा पनि पानी वितरण गरिनेछ । अधिकांश स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी भएकाले पनि पुरानो पाइपबाट नै वितरण गर्न लागिएको लिमिटेडले जनाएको छ। पुरानो पाइपबाट पानी वितरण गर्दा नयाँ पाइप भने परीक्षण हुने प्रमुख कार्यकारी निर्देशक शाक्यले बताए।
पानी वितरणका क्रममा पाइपमा चुहावट हुँदा मर्मत तत्काल गर्नुपर्ने उनले बताए। गत वर्ष सडकले अनुमति नदिँदा मर्मत गर्न ढिला भएको थियो। उनले भने, “सडक खन्नासाथ तत्काल मर्मत गर्न नपाउँदा ढिला हुन्छ। मेलम्ची खोलाबाट १७ करोड लिटर पानी ल्याउने भए पनि अहिले तत्काल थोरैबाट सुरु गरिने तयारी गरिएको छ।
गत वर्ष पनि सुरुमा थोरै परिमाणबाट पानी वितरण थालिएको थियो। अहिले सुरुमा पाँच करोड लिटर पानी ल्याइने र विस्तारै बढाइने उनले बताइ।
सरकारले विसं २०७६ फागुनमा पानी पथान्तरण गरेको थियो। गत वर्ष असारमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो।