दार्चुला। २९ करोड लगानीमा दार्चुला सदरमुकाम स्थित महाकाली नगरपालिकाको खलंगामा खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ। महाकाली नगरपालिका–४ र ५ का प्रत्येक घरधुरीमा एक वर्षभित्रै स्वच्छ खानेपानीको सुविधा पुर्याउने उद्देश्यले पाइपलाइन जडानको काम भइरहेको हो। यस आयोजना अन्तर्गत खलंगामा २८६ खानेपानीका धारा निर्माण हुने जनाइएको छ।
एसियाली विकास बैंकको अनुदान र नगर विकास कोषको ऋण लगानीमा खलंगा खानेपानी तथा सरसफाई आयोजना निर्माणको काम भइरहेको महाकाली नगरपालिकाकाले जानकारी दिएको छ।करिब हाल धौलीगाड मुहान रहेको गल्फै क्षेत्रमा मुहान इन्टेक, कलेक्सन च्याम्बर, पानी संकलन ट्याङ्की र पालेघर भवन निर्माणाधीन अवस्थामा रहेको छ। त्यस्तै गाराकु मुहान रहेको खलंगा बीच बजार क्षेत्रमा इन्टेक, कलेक्सन च्याम्बर र पानी थिग्र्याउने ट्याङ्की निर्माणाधीन अवस्थामा रहेको छ साथै बंगाबगड क्षेत्रमा धारा जडान र ट्याङ्की मर्मतको कार्य छिट्टै सञ्चालन गर्ने योजना रहेको छ।
त्यस्तैगरी खानेपानीका संरचनासँगसँगै महाकाली–५ भौराबगडमा सार्वजनिक शौचालय र आयोजना समितिको कार्यालय भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ। उक्त आयोजना निर्माणको जिम्मा आसिस क्याब र ग्वाल्लेक निर्माण सेवा जेभीले पाएको छ।