काठमाडौं। शुक्लाफाँटा नगरपालिका–९ मा रु सात करोडको लागतमा खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइएको छ। लामो समयदेखि हेण्डपम्पको पानी प्रयोग गर्दै आएको बताइएको छ। आयोजना निर्माण हुन थालेपछि शुद्ध खानेपानी पाउने आश गरेको स्थानीयको भनाइ छ।
हेण्डपम्पको पानीमा आर्सेनिक, आइरनलगायत रसाइनका कारण विभिन्न किसिमका रोगको समस्या स्थानीय बासिन्दाले झेल्दै आएका छन्। छ सय घरघुरीमा सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि खानेपानी आयोजना सञ्चालन गरिएको नगरपालिकाले बताएको छ। दुई वर्षभित्रै उक्त आयोजना सम्पन्न गर्ने गरी कार्य भइरहेको छ। स्थानीय बासिन्दाका घरघरमा खानेपानी पुर्याउने लक्ष्यअनुरुप कार्य अगाडि बढाइएको छ। आवश्यकताका आधारमा सार्वजनिक स्थान, विद्यालय, स्वास्थ्य चौकीलगायत क्षेत्रमा धारा राख्ने योजनासमेत छ।
खानेपानी आयोजनासँगै वडा क्षेत्रमा नगर उद्यान निर्माणको कार्यसमेत अगाडि बढ्ने भएको बताइएको छ। दुई करोड २० लाखको लागतमा नगर उद्यान निर्माण हुन लागेको छ।