काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आगामी असारसम्म ५० वटा चार्जिङ स्टेसन निर्माण सम्पन्न गर्ने भएको छ। दुई वर्षअघि निर्माण सुरु भएको चार्जिङ स्टेसनको काम सम्झौता मितिभन्दा एक महिना ढिला सम्पन्न हुने भएको हो।
प्रमुख राजमार्गका ३२ स्थानमा ती चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गरेको हो। चार्जिङ मेसिन चीनबाट नेपालतर्फ पठाइसकिएको बताइएको छ। भौतिक निर्माणकार्य सकिएको छ ।
हाल स्टेसनमा विद्युत् लाइन पु¥याउने काम भइरहेको छ। स्टेसन पूर्व–पश्चिम, पृथ्वी, सिद्धार्थ, बीपी, मदन भण्डारीलगायतका राजमार्गमा राखिनेछ। स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा राखिएको छ। स्टेसनमा कार आधा घण्टा र बस एक घण्टामा पूर्ण चार्ज हुनेछ। चार्जिङ स्टेसनमा दुई सय किलोवाटको ट्रान्सफर्मर राखिनेछ।
एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो । एउटा चार्जिङ स्टेसन निर्माणमा करिब ८० लाख रुपियाँ खर्च हुनेछ । हरेक प्रदेशमा पाँचवटा स्टेसन रहनेछ । त्यस्तै, उपत्यकामा १० र बाँकी पाँचवटा अन्य आवश्यक स्थानमा हुनेछन् । चार्ज गर्ने समय र स्थान मोबाइल एप्सबाट बुक गर्नुका साथै अनलाइन भुक्तानी गर्न सकिनेछ । उहाँले ५० वटै स्टेसनको नियन्त्रण काठमाडौँबाट हुने बताइएको छ।