काठमाडौं। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कार्यालय दमौलीले समयमा काम नगर्ने कम्पनीसँग स्पष्टीकरण मागेको छ। कार्यालयले समयमा काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको हो।
सडक डिभिजन दमौली, तनहुँ अन्तर्गत निर्माण कार्यहरु गर्नका लागि भएको सार्वजानिक खरिद सम्झौता बमोजिम तोकिएको समयाबधिभित्र निर्माण कार्य सम्पन्न हुन नसकि सार्वजानिक खरिद नियमावली २०६४ अनुसार अधिकतम म्याद थप भइ पुर्व निर्धारित क्षतिपुर्ति गणना हुने समयाबधिमा समेत काम सम्पन्न हुन सकेको छैन।
यसका साथै हाल निर्माण व्यवसायीहरु समेत सम्पर्कमा नआएकाले यो सूचना प्रकाशित भएको सात दिनभित्रमा के कारणले कार्य सम्पन्न हुन नसकेको हो। सो को उचित कारण खुलाइ कार्य सम्पन्न गर्न सक्ने स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धता सहित अधिकारीक व्यक्ति कार्यालयमा उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ।
उक्त मितिमा माग भएको विवरणसाथ उपस्थित नभएमा वा पेश भएका विवरण अध्ययन गर्दा निर्माण कार्य सम्पन्न पर्याप्त चित्त बुझ्दो प्रमाण नभएमा सार्वजानिक खरिद ऐन २०६३ तथा ऐ नियमावली २०६४ र खरिद सम्झौता अनुसार कारवाही अगाडी बढाइने कार्यालयले जनाएको छ।
