काठमाडाैं। मंगलबार बिहान मध्यपुर थिमि चार दोबाटोमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भयो। मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र०२–०२३प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।
दुर्घटनाबाट स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक–६ घर भई हाल चाँगुनारायण–३ झौखेल ठकुरीगाउँ बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
स्कुटर पछाडि सवार म्याग्दी बेनी–४ घर भई हाल चाँगुनारायण–३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न सवारीसाधन र टिपर चालक रामेछाप दोरम्बा–४ घर भई हाल मध्यपुरथिमि–७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुलबहादुर सापकोटालाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेर अनुसन्धान सुरू गरेको जनाइएको छ।
यो घटना आजको हो तर दैनिक टिपरको ठक्करबाट दुर्घटना भइनै रहेको हुन्छ। टिपरका लागि जति नीति नियम बनाए पनि टिपरका कारण हुने दुर्घटना भने कमि हुन सकिरहेको छैन। ट्राफिक नियम व्यवस्थित नहुनु, भएका ट्राफिक नियमको सहि ढंगबाट कार्यान्वयन नहुनु, अव्यवस्थित सडक र स्वयम सवारी चालकहरुको लापरबाहीका कारण नै सवारी दुर्घटनाहरु हुने गर्छन्। सवारी दुर्घटनाका लागि सवारी बीमाबाट भुक्तानी दिने र टिपर व्यवसायी संघबाट समेत सहयोग हुने हुँदा पनि टिपर चालकहरुले अझ बढी लापरबाही गरेको देखिन्छ।
नीति निर्माताहरु मौन रहने, नीति कार्यान्वयनकर्ताहरुले चासो नदिने र सवारी चालकहरुले लापरबाही गर्दै जाँदा यस्ता दुर्घटना सामान्य बन्दै गइरहेका छन् भने मानिसको मृत्युलाई पनि सामान्य रुपमा हेर्न थालिएको छ। तर सवारी दुर्घटना भोलि जो कसैलाई जसको घरमा पनि पर्न सक्छ त्यसैले सवारी चालकदेखि सबैले यसमा सचेत हुनु जरुरी छ।