काठमाडौं। मोरङको केराबारी गाउँपालिका–८ मा रहेको महादेव क्रसर उद्योगमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। क्रसर उद्योगमा गिट्टी र बालुवा धुने पानी तान्नलाई मोटर चलाउने क्रममा करेन्ट लाग्दा केराबारी–८ का २३ वर्षीय टंक लिम्बूको मृत्यु भएको हो।
लिम्बू सोही क्रसरका कार्यरत रहेका थिए। करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान लैजाने क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। क्रसरको लापरबाहीका कारण लिम्बूको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
आफन्तले मृतकका छोरीलाई भरणपोषण तथा पठनपाठनको व्यवस्था गरिनुपर्ने, परिवारलाई किरिया खर्च र उचित क्षतिपूर्ति दिनुपर्ने तथा लापरवाहीपूर्ण तरिकाले सञ्चालन गरिएको क्रसर उद्योगमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेर शव बुझ्न मानिरहेका छैनन्।