काठमाडौं। जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। ‘सम्मुनत नगर र सबल स्थानीय सरकार’ नारासहित कांग्रेस नगर समितिले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो। प्रतिबद्धता पत्रमा नागरिक स्वतन्त्रता र सम्मान, असल शासन र जवाफदेहिता, सहज र प्रभावकारी सेवा प्रवाह, नीतिगत, कानुनी र संस्थागत विकास, स्रोतको उचित व्यवस्थापनलगायत विषय समेटिएका छन्।
कांग्रेसले ९ बुँदे प्रतिबद्धतापत्रमा बसपार्कको उचित व्यवस्थापन र पार्क निर्माणलाई पनि समावेश गरिएको छ। नगरप्रमुखका उम्मेदवार अधिवक्ता पदमबहादुर शाहीले ५ वर्षभित्र गर्न सकिने योजनालाई प्राथमिकताका आधारमा प्रतिबद्धता पत्रमा समेटिएको बताए। उनले सदरमुकाम खलंगाको बीचमा बग्ने जुगाडखोला र तिला नदीलाई सफा र स्वच्छ राखी प्रदूषणमुक्त नगर बनाई पर्यटनको विकास गर्ने, व्यवस्थित स्याउ कोल्डस्टोर निर्माणका लागि पहल गर्ने, विद्यालयको अवस्था अध्ययन मुल्यांकन गरी गुरुयोजना बनाउने लगायतलाई प्राथमिकता दिइएको बताए।
‘धौलिगाड बृहत् खानेपानी आयोजना पनि समयमै सम्पन्न गर्ने हाम्रो वाचा छ,’ उनले भने, ‘छुवाछूत प्रथाको पूर्ण अन्त्य गर्दै छाउपडी प्रथा न्यूनीकरण गर्ने र सिर्जनशील सोचको विकास गरी समृद्ध नगर बनाउने हाम्रो प्रयत्न छ।’ नेपाली कांग्रेसले चन्दननाथ नगर प्रमुखमा शाही र उपप्रमुखमा व्यवसायी रामुदेवी खड्कालाई उम्मेदवार बनाएको छ। यसअघि कांग्रेसकी कान्तिका सेजुवाल नगरप्रमुखमा निर्वाचित भएकी थिइन्।आजको कान्तिपुर दैनिकबाट