रुकुम पूर्व। रुकुम पूर्वमा विद्युत र टेलिफोन दुवै सेवा अवरूद्ध भएको छ। रुकुम पश्चिमको जन्तीबस्ने लेकस्थित टावरमा चट्याङबाट क्षति पुग्दा रुकुम पूर्वमा टेलिफोन सेवा र हावाहुरीका कारण विद्युत सेवा अवरूद्ध भएको हो।
जिल्लामा एकै पटक टेलिफोन र विद्युत सेवा अवरूद्ध हुँदा नागरिक मर्कामा परेका छन्। सोमबारदेखि अवरूद्ध भएको टेलिफोन र विद्युत सेवा अहिलेसम्म सुरू हुन नसक्दा सेवाग्राही मारमा परेका हुन्। अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सूचना आदानप्रदान गर्न, बत्ती बाल्न र विद्युतीय कामकाज गर्न समस्या भइरहेको छ।
दूरसञ्चार कार्यालय रुकुम पूर्वका प्रमुख चन्दनकुमार यादवले चट्याङबाट तार जलेको छ बताए। मर्मतको काम सम्पन्न भएको टेलिफोन सेवा पुनः सञ्चालन हुन केही समय लाग्ने यादवले बताए।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले हावाहुरीले सल्यान र रुकुम पश्चिममा रुख ढलेका कारण सेवा अवरूद्ध भएको जनाएको छ। रुकुम पश्चिमको धैरेनीचौरस्थित सबस्टेसन सञ्चालनमा आएपछि समस्या समाधान हुने बताइएको छ।
रुकुम पश्चिमले काममा ढिलासुस्ती गर्दा रुकुम पूर्वमा विद्युत अनियमित हुने समस्या हट्न नसकेको वितरण केन्द्र रुकुम पूर्वले जनाएको छ।
टेलिफोन र विद्युत सेवा अवरूद्ध भएसँगै यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज गर्न समस्या भएको छ।