सिमकोट। हुम्लाको तल्लो क्षेत्रमा करिब तिन सातादेखि टेलिफोन अवरुद्ध भएको छ। नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्लाका आदानचुली, ताँजाकोट,चङखेली र सर्केगाडसहित पुगुका सोरु गाउँपालिका सञ्चार विहिन भएका हुन्।
सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट गर्ने खालका सबै प्रकारका कामकारबाही प्रभावित भएको छ। यहाँका बासिन्दालाई अग्लो डाडाँमा चढी घण्टौं कुरेर फोन गर्नु परेको अदानचुली गाउँपालिकाले जनाएको छ। निर्वाचनका लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरीलाई जिल्ला वा सम्बन्धीत निकायमा खबर गर्न गाह्रो भएको बताइएको छ।
यसैगरी जिल्लाको माथिल्लो क्षेत्रका नागरिक तीन दिनदेखि टेलिफोन सञ्चार सेवाबाट बञ्चित रहेका छन्। दैलेखमा रहेको महाबुलेखको टावरमा खराबि आउदा यहाँका सेवाग्राहीहरुले सास्ती खेप्नुपरेको छ। यस्तै इन्टरनेट सेवा अवरुद्ध हुँदा आधा दर्जन बढी बैंक तथा वित्तिय संस्थाका कारोबार ठप्प भएको छ।