स्याङजा । जिल्लाको वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोटका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका स्थानीयको घर घरमा लिफ्टिङ खानेपानी योजना मार्फत पानी पुर्याइएको हो ।
विभिन्न चरणमा वालिङ नगरपालिकाबाट विनियोजन भएको रु ५० लाखको लागतमा योजना सम्पन्न गरी प्रत्येक घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको वालिङ नगरपालिकाका इञ्जिनियर दीपेन्द्र मल्लले जानकारी दिए । इञ्जिनियर मल्लका अनुसार गाउँभन्दा तल रहेको बोहोरीखोला मुलबाट पानी तानेर मजकोटमा ल्याइएको र त्यहाँ ४० हजार लिटरको ट्याङ्कीमा पानी सङ्कलन गरी वितरण गरिएको छ ।
बोहोरीखोला मुलबाट २८० मिटर ‘भर्टिकल हाइट’ मा सोलारमार्फत पानी लिफ्टिङ गरिएको र ३२० वाटका ३२ वटा सोलार प्यानलको प्रयोग गरी पानी तानिएको हो उनले बताए ।
एक गाग्री पानीका लागि एकदेखि डेढघण्टा समय खर्चनुपर्ने अवस्था रहेकोमा योजनामार्फत गाउँमा पानी आएपछि निकै सहज भएको बोहोरीखोला लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष फणीन्द्र थापाले बताए ।
वालिङ नगरपालिकाले खानीपानीका समस्या भएका बस्तीमा शुद्ध खानेपानी पुर्याउने लक्ष्यसहित योजना अगाडि बढाएको छ । नगरपालिकाले गत आव २०७७/०७८ मा खानेपानीमा रु ५६ लाख ५५ हजार ५७४, आव २०७६/०७७ मा रु ८४ लाख ७० हजार ५६४, आव २०७५/०७६ मा रु दुई करोड सात लाख चार हजार ६८९ विनियोजन गरेको थियो । प्रदेश, केन्द्र सरकार र अन्य सहयोगी सङ्घ संस्थाको पहलमा नगरका १४ वटै वडामा खानेपानीका योजना अगाडि बढाइरहेको जनाइएको छ ।