रोल्पा । जिल्लाको सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युत्को ट्रान्समिटर जलेपछि एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । गाउँपालिकाका जेलबाङ, सेरम उवा, गामलगायत स्थानका बासिन्दा टेलिकमको सेवा लिनबाट बञ्चित भएका हुन् ।
टावर कहिले आउने कहिले जाने समस्या भएको स्थानियको गुनासो छ । पहिले सोलारमार्फत विद्युत् सञ्चालन हुने गरेकामा अहिले झन् विद्युत् भएर पनि नियमित सेवा सञ्चालनमा नभएको उनीहरुले बताएका छन् ।
टेलिकम टावर अवरुद्ध भएपछि धेरैपटक विद्युत् र टेलिकमका कार्यालयमा सम्पर्क गरी छिटो मर्मत गर्न पहल गरिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए ।
उता विद्युत् कार्यालय प्रमुखलाई छिटो ट्रान्समिटर मर्मत कार्य गर्नुपर्यो भनी फोन गर्दा उल्टै थर्काउने गरेको अध्यक्ष पुनले गुनासो गरे । टावरको जिम्मा तुल्सीपुरको कार्यालयले हेर्ने गरेको दूर सञ्चार कार्यालयका प्रमुख भीष्मध्वज उपाध्यायले बताए । यो मर्मतका लागि उक्त कार्यालयमा चार इञ्जिनीयरको टोली रहेको र उनीहरूले नै हेर्ने भएकाले तुलसीपुरबाट सामानसहित टोली चाँडै आउने समेत उनले बताए ।
समयमै मर्मत गर्न ढिलाइ गर्दा हप्तौं दिनसम्म टलिफोन सेवाबाट सेवाग्राही बञ्चित भएका छन् भने जिल्लाको पश्चिमोत्तर भेगको थवाङ, परिवर्तन, गङ्गादेव र माडी गाउँपालिकामा पनि यो समस्या देखिने गरेको छ । माडी गाउँपालिका–५ भाबाङ, वडा नं ३ स्थित तालाबाङ, परिवर्तन गाउँपालिकाको वडा नं २ स्थित राङसी र वडा नं ५को राङकोट थबाङ गाउँपालिका–२स्थित थवाङमा टावर बनाइए पनि भरपर्दो छैन ।