काठमाडौं। पानी वितरण गर्न थालेको दुई साता नपुग्दै मेलम्चीको पानी ल्याउन रोक्ने तयारी शुरु भएको छ। दुई साता अघि मात्र अस्थायी संरचनाबाट पुनः काठमाडौं ल्याउन थालिएको मेलम्चीको पानी वर्षा शुरु हुनु अघि नै रोकिने भएको हो।
वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ।
हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ। गत वर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको मेलम्ची आयोजनाले जनाएको छ।
वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बाग्मतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको समितिले जनाएको छ। गत ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनः वितरण शुरु गरेका थिए।
पहिलो दिन पाँच करोड लिटर पानी वितरण सुरु भएकामा क्रमशः आठ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको छ। गत वर्ष फागुनमा पहिलो पटक पानी पथान्तरण शुरु गरिएको थियो।