चितवन। चितवनमा स्थानीय युवक अनिल परियारको हत्या भएको विषयलाई लिएर प्रदर्शन भएको छ । नेपाली कांग्रेस निकट युवक अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि प्रदर्शन भएको हो ।
कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग समेत बन्द गराएका छन् । उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् । आइतबार साँझ ७ः३० बजे भरतपुर महानगरपालिका १२ निवासी परियारको कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।
घटना भएको यतिका समयसम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियार निकट युवाहरुले प्रदर्शन गरेका हुन् । परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । प्रदर्शनकारीहरुले शव उठाउन समेत दिएका छैनन् ।
प्रदर्शनका कारण प्रहरीले शवलाई भरतपुर अस्पतालमा लगेर पोष्टमार्टम गर्न सकेको छैन । हत्या भएको स्थानमा प्रहरी ढिला पुगेको र उपचार गर्न समयमा नै नल्याउँदा परियारको मृत्यु भएको प्रदर्शनकारीले आरोप लगाएका छन् ।
अहिले चितवन मेडिकल कलेज क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।