काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ९ महिनाको अवधिमा ५२ करोड भन्दा बढी नाफा कमाएको छ। चिलिमेले चालू आर्थिक वर्षको ९ महिनामा ५२ करोड २० लाखभन्दा बढी खुद नाफा कमाएको हो ।
यस वर्ष गत वर्षको सोही अवधिको तुलनामा चिलिमेले १ दशमलव २४ प्रतिशत मात्र खुद नाफा बढाएको छ। गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा ५१ करोड ५६ लाखभन्दा बढी थियो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा भने साढे १ प्रतिशत कम भएको छ । गत वर्ष ५५ करोड १८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ५४ करोड ३२ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । कम्पनीको गत वर्षभन्दा यस वर्ष वित्तीय आम्दानी २० दशमलव २४ प्रतिशत बढी भएकाले खुद नाफामा सामान्य वृद्धि देखिएको हो । गत वर्ष १० करोड ८२ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष १३ करोड १ लाखभन्दा बढी आम्दानी गरेको हो ।
कम्पनीको विद्युत विक्री आम्दानी गत वर्ष ८० करोड ९२ लाखभन्दा बढी रहेकोमा यस वर्ष करिब २ प्रतिशत बढेर ८२ करोड ३४ लाखभन्दा बढी भएको छ । ७ दशमलव ५० प्रतिशत बोनस शेयर मार्फत पूँजी वृद्धि गरी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार कायम गरेको कम्पनीको रिटेन्ड अर्निग ४ दशमलव २७ प्रतिशत कम ३ अर्ब ३९ करोड ८७ लाख रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १० दशमलव २१ र प्रतिशेयर नेटवर्थ १५० दशमलव ३४ रहेको छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात भने २९ दशमलव ४० गुणा रहेको छ ।