रसुवा। रसुवाको पाँच वटै स्थानीय तहमा मतगणनास्थल निर्माण गरिएको छ। शुक्रबार हुने स्थानीय तहको मतदान पछि मत गणनाका लागि जिल्लाको पाँच वटै स्थानीय तहमा मतगणनास्थल निर्माण गरिएको हो।
मतगणनाका लागि जिल्लाको नौकुण्ड गाउँपालिकाको पारच्याङ, कालिका गाउँपालिकाको कालिकास्थान, गोसाईंकुण्ड गाउँपालिकाको धुन्चे, उत्तरगया गाउँपालिकाको खाल्टे, आमाछोदिङ्मो गाउँपालिकाको थामुचेतमा मतगणनास्थल तोकिएको छ।
मतगणनास्थलको सबै व्यवस्थापनको कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । सिसिटिभी जडान गरिनुका साथै तारबार लगाइएको जनाइएको छ । मतगणनास्थलमा मतगणकहरू बस्ने र प्रतिनिधि बस्ने स्थानको व्यवस्थापनसमेत मिलाइएको छ ।
जिल्लामा पाँच वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।