काठमाडौं। कतारमा विश्वकप फुटबल रंगशाला निर्माणमा काम गरी बिना तलब स्वदेश फर्किन बाध्य २३ जना नेपाली कामदारले आफ्नो तलब पाउने भएका छन्।
विश्वकप फुटबल स्टेडियममा बिना तलब ६ महिना काम गरेर नेपाली कामदार रित्तो हात फर्किएपछि एमनेष्टी ईन्टरनेशनल लगायतका संस्थाले नेपालीसहित आप्रवासी कामदारहरूले बक्यौता रकम पाउनुपर्ने आवाज उठाएका थिए।
कतार सरकारले कतारस्थित मेना मर्करी ईन्जिनियरिङ कम्पनीमा काम गरी रकम लिन बाँकी रहेका २३ जना नेपालीलाई सम्पर्कमा रकम बुझ्न आग्रह गरेको छ। रकम लिन आफ्नो नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर जानुपर्ने छ।
नेपालस्थित कतारको दूतावासले यस वर्ष रकम आएका २१ जना र गत वर्ष रकम बुझ्न बाँकी रहेका दुई जना गरी २३ जनालाई सम्पर्कमा आउन आग्रह गरेको छ। विश्वकप फुटबलका लागि बनाइएको रंगशालामा बिना तलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीलाई कम्पनीले तीन वर्षपछि उनीहरूको तलब पठाएको थियो।
नेपाल सरकारले नेपालीले नपाएको तलब दिलाउन दूतावासमार्फत लामो प्रयास गरेकोे थियो। पाँच वर्षअघि सन् २०१७ को अन्त्यमा ३४ नेपाली कामदार खाली हात फर्किएका थिए। आजको अर्थबाट