काठमाडौं। सरकारले बागमती नदी किनारामा अनाधिकृतरुपमा निर्माण गरिएका संरचना हटाउने अभियान अघि बढाएको छ। सरकारले बागमती करिडोर क्षेत्रमा सडक अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचना भत्काउने काम सुरु गरेको हो।
सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले तीनकुने सुविधानगर क्षेत्रमा बनाइएका अनाधिकृत संरचना डोजर लगाएर भत्काएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गैरकानूनीरूपमा सडक क्षेत्र मिचेर बनाइएका अवैध टहरा भत्काइएको जनाएको छ। समितिका कर्मचारी प्रहरीसहितको टोलीले अनाधिकृत संरचना हटाएको हो।
पटक–पटक सूचना जारी गरेर हटाउन आग्रह गर्दा पनि वेवास्था गरेपछि मापदण्ड विपरीत निर्माण गरिएका ६ वटा संरचना हटाइएको समितिले बताएको छ। नदी किनारमा सौन्दर्यीकरणका कामहरू गरिरहेको सन्दर्भमा यस्ता अवैध संरचनाले कुरूपता बढाएकाले भत्काइएको हो।
यसअघि समितिले २८ वटा अवैध संरचना भत्काइसकेको बताउँदै आगामी दिनमा पनि यस्ता संरचना हटाउने काम जारी रहने समितिले जनाएको छ।