सल्यान । जिल्लाको कालीमाटी गाउँपालिका–७ घुइँयाबारीमा खानेपानी आयोजना निर्माण शुरु गरिएको छ । आयोजना निर्माणसँगै यस क्षेत्रमा रहेका ४०० घरपरिवारमा वर्षौँदेखि बबई नदीको फोहोर पानी खानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीयले बस्ती नजिकै रहेको बबई नदीको फोहोर पानी प्रयोग गर्दै आएका थिए । अहिले भने गाउँमा दुई खानेपानी योजना अगाडि बढ्दा स्थानीय औधी खुशी हुन थालेका छन् । आफूहरुलाई बबईको पानी धमिलो छ खाएपछि रोग लाग्छ भन्ने थाहा हुँदा पनि बाध्यताले गर्दा नदीको पानी प्रयोग गर्नुपरेको स्थानीय बताउँछन् ।
मध्यवर्ती क्षेत्रमा जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जामा पहुँच कार्यक्रमअन्तर्गत बस्तीमा ठूला खानेपानी आयोजना निर्माण गर्न लागेपछि भने स्थानीय खुशी भएका छन् । कार्यक्रमबाट रु १५ लाख र गाउँपालिकाको रु नौ लाख गरी रु २४ लाखको लागतमा खानेपानी योजना सुरुआत गरिएको जनाइएको छ । कार्यक्रमका जिल्ला संयोजक महेश हिताङ्गले कार्यक्रमअन्तर्गत मुहानमै पानीको शुद्धीकरण गरी घरघरमा धारा जडान गरिने बताए ।
अहिले दुवै आयोजनामा काम धमाधम भइरहेकाले अबको तीन महिनाभित्रमा सबै घरमा धारा जडान गरिने खानेपानी निर्माण समितिका अध्यक्ष चित्रबहादुर बुढाले जानकारी दिए ।