काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी यो साताबाट बन्द गरिने भएको छ। पुनर्निर्माणपछि गत वैशाख ११ गते काठमाडौं आइपुगेको पानी बर्खा लागेसँगै फेरि बन्द हुन गरिने भएको हो।
यो वर्ष बर्खा चाँडै सुरु हुने भनिएकाले पानी बन्द गर्ने विषयमा छलफल सुरु भएको बताइएको छ। यहि १० गतेसम्ममा पानी बन्द हुन सक्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
मेलम्ची खोलामा बाढी आउनु पहिला नै खानेपानी आयोजनाको सुरुङ बन्द गर्नुको विकल्प नरहेको आयोजनाले जनाएको छ। धमिलो पानी आएपछि सुरुङमा हाल्दा प्राविधिक रुपमा उपयुत्त नहुने भएपछि अस्थायी संरचना तयार गरेर पानी ल्याएको १ महिना मै बन्द गर्न लागिएको हो ।
अब आगामी असोज पछि पनि खोलामा धमिलो पानी आउन छोडे पछि मात्रै मेलम्चीको पानी काठमाडौं आउने आयोजनाले जनाएको छ।
यस अघि गत २०७७ चैतमा पहिलोपटक काठमाडौं आएको मेलम्चीको पानीमा २०७८ असार र साउनमा मेलम्ची खोलामा गएको बाढीले आयोजना स्थल र सुरुङमा क्षति गरेपछि बन्द भएको थियो । गत माघबाट अस्थायी पुनर्निमाण सुरु भएको मेलम्चीको पानी चैत अन्तिममा सुरुङमा हालेर वैशाखमा वितरण भएको थियो ।