नयाँदिल्ली। भारत सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। पेट्रोल र डिजेलको मूल्यमा लगातार बढोत्तरीपछि आलोचना खेपिरहेको सरकारले इन्धनमाथि लगाइएको कर (एक्साइज ड्यूटी) लाई कम गरेर मूल्य घटाएको हो।
अब भारतमा पेट्रेल हालभन्दा प्रति लिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँले सस्तो भएको छ। पेट्रोलमा ८ र डिजेलमा ६ रुपैयाँ प्रति लिटर एक्साइज ड्यूटी घाटाउने निर्णय गरेको बताइएको छ।
जसकारण आम उपभोक्तालाई राहत हुने अपेक्षा गरिएको छ। खाना पकाउने ग्यासमा पनि प्रति सिलिन्डिर २ सय रुपैयाँ छुट दिएर आम मानिसले खरीद गर्ने सिलिन्डरलाई सस्तो बनाइएको छ।
२२ मार्चपछि भारतमा लगातार इन्धनको मूल्यवृद्धि हुँदै आएको थियो। भारतमा सबैभन्दा महँगो महाराष्ट्रमा प्रति लिटर पेट्रोलको मूल्य १ सय २३ रुपैयाँ ४६ पैसा पुगेको थियो। शनिबार मध्यरातिबाट मूल्यमा कमी आएको हो।