काठमाडौं। कञ्चनपुरको भिमदत्त र कृष्णपुर नगरपालिकामा पोस्ट हार्भेस्ट सेन्टर र कस्टम हायरिङ सेन्टर स्थापना गर्नेक्रममा आर्थिक अनियमितता गरेका विभिन्न व्यक्तिविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सञ्चालक समितिमा निकासा भएको रकमबाट किसानसँग छलफलै नगरी समितिले कृषी सामाग्री खरिद गरी अर्थिक अनियमितता गरेको आयोगको दावी छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तर्गत ती परियोजना सञ्चालन भएका थिए।
आयोगले सोमबार जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री कृषी आधुनीकिकरण परियोजना कार्यान्वयन एकाइ धान जोन कञ्चनपुरका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत टङकप्रसाद रिजाल, धान जोन सञ्चालक समितिका संयोजक तथा शुक्लाफाटा कृषि सहकारी अध्यक्ष दशरथ भण्डारी, आयोजनामा कार्यरत इन्जिनियर मोहनराम टेलर तथा दिनेश मोटर्स प्रालिका सञ्चालक राजीव हमालविरुद्ध मुद्दा दायर गरिएको हो। उनिहरुलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही र बिगो दाबी गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।
अख्तियारले सोमबार नै जाजरकोटको छेडागाड नगरपालिका वडा न १ को कोटिला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिपबहादुर बस्नेत विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बस्नेतले समितिमा घुम्ती कोष अन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समुहको अभिलेखमा दाखिला नगरेको आयोगको दाबी छ। बस्नेतलाई समुहबाट हिनामिना गरेको दुई लाख ५५ हजार रुपैयाँ असुलउपर गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ।
आजको गोरखापत्र दैनिकबाट