काठमाडौं। भक्तपुरमा मेलम्चीको पानी वितरण हुने भएको छ। अबको २–४ दिन भित्रमा मेलम्चीको पानी भक्तपुरमा वितरण हुने भएको हो।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलनकुमार शाक्यले सोमबार भेट गर्दै केही २–३ दिनभित्रै मेलम्चीको पानी वितरण गरिने बताएका हुन्।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा पानीको सहज वितरणलाई प्राथमिकतामा राख्दै आएको बताउँदै खानेपानीको समस्या समाधान छिटै गर्नु आवश्यक भएको बताएका छन्। भक्तपुरमा अहिले प्रमुख समस्या भनेको खानेपानिको नै रहेको छ। यो समस्यालाई समाधान गरि जनतालाई सेवा गर्नमा आफु अग्रसर रहेको उनको भनाई छ।
भेटमा केयूकेएलका प्रमुख मिलनकुमार शाक्यले जनप्रतिनिधिहरूले खानेपानी व्यवस्थापनमा चासो लिएकोप्रति धन्यवाद दिँदै अबको २–३ दिनभित्रै कटुञ्जे पानी ट्यांकीबाट मेलम्चीको पानी भक्तपुरमा वितरण हुने तयारी भइरहेको बताए। उनले पानीको स्रोत बढाउने प्रत्यत्न पनि भइरहेको र सुन्दरीजलमा थप १० करोड लिटर थप्ने योजना अघि बढाइरहेको दाबी गरे।
उनले महादेव खोलामा बाँध बाँधेर भक्तपुरमा पानी वितरण गर्ने योजनालाई अघि बढाउने पहल भइरहेको बताउँदै प्रमुख शाक्यले भक्तपुरबासीलाई सहज पानी उपलब्ध गराउन केयूकेएलले निरन्तर प्रयास जारी राखेको बताए।