काठमाडौं। सप्तरीमा नवनिर्वाचित नगरप्रमुखले तिन महिनाभित्र राजविराज बसपार्क सञ्चालनमा ल्याउने बताएका छन्। उनले सात वर्षसम्म सञ्चालनमा आउन नसकेको बसपार्क तिन महिना भित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका हुन्।
“दुई वर्षको ठेक्का सात वर्ष हुँदा पनि सम्पन्न हुन नसकेको बसपार्कमा अबको तीन महिनाभित्र बस गुडाएर देखाउँछु,” उनले भने। नगर विकासको लागि पहिलो एजेन्डाका रूपमा शिक्षा, स्वास्थ्य र बाटोलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
पद तथा गोपनीयताको शपथ लिएपछि नगरवासीलाई सम्बोधन गर्दै उनले पहिलो वर्षमा विपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क स्वास्थ्य बीमा तथा विपन्नको स्वास्थ्य उपचारमा पहुँच पुर्याउने पनि बताए।
उनले सहरलाई व्यवस्थित र सुरक्षित बनाउन ठाउँ–ठाउँमा सीसी क्यामरा जडान गर्नुका साथै २१ जना नगर प्रहरी भर्ना गरिने जानकारी दिए।
आगामी बजेटमा १० करोड रकम छुट्याएर मलखाद खरिद गरेर किसानलाई उपलब्ध गराउनुका साथै बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने उनले बताए। त्यसैगरी कन्या छात्रावाससहित नगरका अधुरा योजना आगामी छ महिनाभित्र पूरा गरिने उनले प्रतिबद्धता गरे।