काठमाडौं। ललितपुरस्थित ऐतिहासिक पाटन दरबार क्षेत्रमा एकीकृत भौतिक पूर्वाधार निर्माणको सुरु गरिएको छ। ढल निर्माण, खानेपानीका पाइपलाइन बिच्छ्याउने र विद्युत् तथा टेलिफोनका लाइनहरू भूमिगत गर्नेगरी सो आयोजनाको सुरु गरिएको हो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमबाट संयुक्त रुपमा भूमिगत काम गर्ने कार्य पाटन क्षेत्रमा एकीकृत ढंगले संचालन भइरहेका छन्।
विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा वर्षातको पानी र ढलको उचित व्यवस्थापन नभएका कारण देखिएका समस्याको समाधानका लागि ललितपुर महानगरपालिका प्रमुखको विशेष पहलमा आयोजना सुरु गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ।
एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकार र ललितपुर महानगरपालिकाको संयुक्त लगानीमा करिब ४८ करोडको लागतमा निर्माणाधीन ढल आगामी पुससम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ।