काठमाडौं। सिन्धुलीको तीनपाटन गाउँपालिका–१ स्थित छर्रछरेडाँडाका बासिन्दा सुुक्खा मौसमसँगै खानेपानीको समस्याबाट प्रभावित भएका छन्। गाउँमा सञ्चालित पताले र छर्छरे लिफ्ट खानेपानी योजनाको मोटर बिग्रिएपछि झन्डै २५० घरपरिवार खानेपानीको समस्यामा परेका हुन्।
स्थानीयका अनुसार पताले र छर्छरे लिफ्ट खानेपानी योजना एक वर्षअघि गैरसरकारी संस्था नेवाले करिब ५० लाख रुपियाँको लागतमा निर्माण गरिदिएको थियो। “योजना निर्माण हुनु पहिले पनि खानेपानी समस्याकै कारण छर्छरे डाँडाका सयभन्दा बढी घरपरिवार गाउँ छाडेर बेँसीमा झरेथ्यौँ,” उनीहरुले भने, “गर्मी सुरु भएपछि तीन महिनाका लागि बेँसीमा पर्ने सिस्ने, जाँते र डिलमुनिका खोला किनारमा झथ्र्यौं र वर्षा मौसमसँगै गाउँमा खानेपानीका मुहान रसाएपछि फर्किन्थ्यौँ।”
अहिले गाउँमा भएको खानेपानीको कुवामा पानी लिन उपभोक्ताको आधा रातमै भीड लाग्ने गरेको छ। “बिहानभरि सधैँ खानेपानीको जोहो गर्दै बित्छ। त्यो पनि मान्छेलाई खुवाउनु कि पशुलाई दिनु, अर्को छर्छरे लिफ्ट खानेपानी योजनामा जडान गरिएको मोटरले राम्रोसँग काम गर्दैन। उक्त मोटर चरक्क घाम लागेपछि मात्रै एक घण्टाजति चल्छ। दुवै योजनाको मोटर बिग्रिएपछि उपभोक्तालाई पुनः कुवाको पानी खोज्दै हिँड्नुपर्ने बाध्यता भएको छ।