रौतहट। लालबकैया नदी टिकुलीया पुलको ठेक्का तोडिएको छ। निर्माण व्यवसायी पप्पु कन्सट्रक्सन प्रालि पोखरीया, पर्साले सकार गरेकोमा पटकपटक ताकेदा गर्दागर्दै समयमा पुल बन्न नसकेकाले पुलको ठेक्का तोडिएको हो।
पुल समयमा नबनाउनु र ठेकेदारको लापरबाहीका कारण लाखौं जनता डुंगाको सहाराले ज्यानको बाजी लगाएर डुंगा तर्ने गरेका छन्। गौर टिकुलीयाघाट बकैया नदी करिब पाँच सय फिटमा फैलिएको छ। नदीको मुहानले पानीका कारण आवतजावतमा कठिनाइ भइरहेको छ। वर्षौंदेखि वर्षात्को समयमा ढुंगाको सहाराले आमजनता ओहोरदोहर गर्ने गरेको देखिन्छ। बाढीको समयमा ढुंगाको सहाराले चल्ने नदीमा वर्षेनी जनता डुब्ने गरेका छन्। जिल्लामा ठूलाठूला नेता भए तापनि समय परिस्थितिले पूर्वप्रधानमन्त्री शुशील कोइरालाले २०७१ सालमा शिलान्यास गरेका थिए।
पुलको काम सात आठ वर्ष बितिसक्दा पनि भौतिक प्रगति ५१ प्रतिशत र वित्तीय प्रगति ३९ प्रतिशत भएको देखिन्छ। तर पुल बन्ने समयसीमा २५ असार २०७४ सम्म थियो। समय थप्दै म्याद १४ पुस २०७७ सालसम्म तोकिएको थियो तर अहिलेसम्म पुल बन्न सकेको छैन। गौर नगरपालिकासँंग जोडिएको ईशनाथ नगरपालिकाका जनताको आवतजावत, पडोशी देश भारतको विहार राज्यका छेउछाउका जनतालाई सहुलियत हुने गर्दछ। पुलको काम गुणस्तरहीन, मोबिलाइजेसन रकमको दुरुपयोग, तालुक निकायको निर्देशन पालना नभएको कारण ठेक्का तोडिएको सडक डिभिजन कार्यालयका प्रमुख दरोगा साहले बताए। यस्तै रौतहटकै चाँदी खोला पुल विश्रामपुर र झाझ नदीपुल गौर पिपरा पुलको पनि ठेक्का तोडिएको छ।
आजको कारोबार दैनिकबाट