नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ। प्रतापपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो।
प्रतापपुर गाँउपालिका भित्रका कृषकहरुलाई मध्यनजर गरी पालिका भित्र माटो परीक्षण प्रयोगशाला अनिवार्य रहेको भन्दै स्थापना गर्न थालिएको प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताए। यादवले प्रतापपुर गाँउपालिका उँखु, केरा र बदाम लगायत अन्य वालीको पकेट क्षेत्र भएको हुनाले माटो प्रयोगशालाको आवश्यकता महसुस भई स्थापना गर्न लागेको बताए।
यस्तै किसानलाई कृषिकै लागि चाहिने अन्य आवश्यकताहरुलाई पछिपछि योजना बनाई काम गर्दै जाने जनप्रतिनिधिहरुको प्रतिबद्धता छ । किसानले मलविउ व्यवस्थापनमा कठिनाइ भोग्दै आएकामा अब गाउँपालिकाले पहल गरी उपलब्ध गराउने पनि उक्त बैठकले निर्णय गरेको छ।
माटो परीक्षण प्रयोगशाला सञ्चालनको लागि कार्यविधि नै बनाउने गाँउपालिकाले जनाएको छ। त्यस्तै किसानलाई कृषक परीचयपत्र समेत वितरण गरिने योजना रहेको छ । कार्डले कति क्षेत्रफलमा खेती भईरहेको र कति परिवार त्यसमा आश्रित रहेको तथ्याङ्क हुने छ ।