काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले उद्योगी व्यवसायीलाई दक्ष कमदार उत्पादनका लागि उद्योग पाठशाला खोल्न आग्रह गरेका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।
उनले दक्ष कर्मचारी भएमात्र उत्पादन र व्यवसायले सफलता पाउने धारणा राखे । उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता भएको भन्दै मुख्यमन्त्री पाण्डेले मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर दक्ष कामदार उत्पादन गर्न जरुरी रहेको औंल्याए ।
मुख्यमन्त्री पाण्डेले बागमती सरकारले पाठशाला सञ्चालनका लागि चितवन उद्योग वाणिज्य संघलाई दश लाख रुपैयाँ सहयोग गरेको पनि जानकारी दिए । उनले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले उद्योग मैत्री वातावरण तयार पार्न प्रदेश सरकार तयार रहेको व्यवसायीलाई बताए । मुख्यमन्त्री पाण्डेले संघीय सरकार मातहत रहेका प्रदेशभित्रका चारवटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताए ।