काठमाडौं। सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडक निर्माणको कामले गति लिन सकेको छैन। हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरले सर्लाहीमा सङ्ग्रामपुरस्थित बाँके खोलादेखि पश्चिमी भेग बलरास्थित बागमती नदीसम्मको हुलाकी सडक तीन खण्डमा ठेक्का लगाइ निर्माणको काम गराइरहेको छ।
हुलाकी सडकमा पर्ने गोडैता नगरपालिका–९ का स्थानीय रञ्जित यादवले सडकको निर्माण निकै सुस्त गतिमा अघि बढेको बताए। वर्षौंदेखि जीर्ण अवस्थामा रहेको हुलाकी सडकको निर्माण कार्य पूरा नहुँदा दक्षिणी भेगका नागरिकले सास्ती खेप्दै आइरहेका छन्। हिउँदमा धुलाम्मे हुने यो सडक केही दिनदेखि निरन्तर वर्षा भइरहँदो हिलाम्मेभएको छ।
जिल्लाको कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमारले यो पटक हुलाकी सडक बन्ने आश पलाएको बताए। सङ्घीय सरकार मातहतपर्ने यो सडकको निर्माण यो पटक जसरी पनि पूरा गराउन आफूहरूले पनि दबाब दिने उनी बताउछन्।
हुलाकी सडक निर्माणका लागि यहाँका बासिन्दाले लामो समयदेखि दबाब दिँदै आइरहेका छन्। सडक निर्माणमा दबाब सिर्जना गर्ने उद्देश्यले गत वर्ष जिल्लाका सांसद, पालिका प्रमुख, नागरिक समाजका अगुवालगायत धर्नामा बसेका थिए। सरकारका मन्त्रीहरूले पटक–पटक जिल्ला आएर आश्वासन दिँदासमेत हुलाकी सडकको अवस्था उस्तै रहँदा यहाँका बासिन्दा निराश भइरहेका छन्।
हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतोले हुलाकी सडक निर्माणको कामअघि बढेको दाबी गरे। कार्यालय प्रमुख महतोले बाँके र बागमती दुवैतर्फबाट केही किलोमिटर सडक कालोपत्रेसमेत भइसकेको जानकारी दिए। उनले जेठ अन्तिमतिर सडक निर्माणको गति देखिने बताए।
आजको गोरखापत्र दैनिकबाट