बागलुङ। बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ। गलकोट नगरपालिका वडा नम्बर २ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको हो।
बिहीबार साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको बताईएको छ। बाढीको त्रासले स्थानीय रातभर रातभर निदाउन सकेका छैनन्। जिवन कष्टकर बन्दै गएको छ।
वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ। घोडा बाँधेदेखि गलकोटसम्मको खण्डकमा आधा दर्जनभन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरु बाटोमै अलपत्र परेका छन्। पोखरा, काठमाडौँ लगायतका स्थानबाट, बुर्तिबाङ, रोल्पा, रुकुम हिँडेका यात्रुहरु गलकोट नगरपालिका वडा नम्बर २ भुङ्खानीमै अलपत्र परेका छन्।
बाढी पहिरोले सडक क्षतविक्षत बनाएको हुँदा खुलाउन केही समय लाग्ने गलकोट नगरपालिकाले जनाएको छ।