जुम्ला। जुम्लाको कनकासुन्दरीमा लोकमार्ग निर्माण हुने भएको छ। नेपालका बाईसे चौबिसे राज्यमध्ये शक्तिशाली सिंजा राज्यका राजा (नागराज) को सम्झानामा उक्त लोकमार्ग निर्माण हुने भएको हो।
उक्त लोकमार्ग संघीय सरकारको एक करोड लागतमा कनकासुन्दरी गाउँपालिकामा निर्माण हुने भएको हो। सिंजा राज्यका राजा नागराजको स्मृतिमा कनकासुन्दरीको गोठिज्युला गाडतार्ना लुड्कु गाउँहुँदै ऐतिहासिक कनकासुन्दी मन्दिर जोडने ‘नागराज लोकमार्ग’ निर्माण प्रक्रिया अघि बढेको हो।
सिंजा राज्यको विरासत जोगाउन र राजा नागराजको योगदानको कदर गर्न ‘नागराज लोकमार्ग’ नामाकरण गरिएको हो। सडक निर्माणका लागि एक करोड विनियोजन भए पनि ४९ लाखमा ठेक्का सम्झौता भएको छ। यद्यपि एक करोड बराबरकै काम गरिने स्थानीयले बताए। आगामी असारभित्र निर्माण सम्पन्न गर्नेगरी कालासिला निर्माण सेवाले ‘नागराज लोकमार्ग’ निर्माणको जिम्मा लिएको छ।
कनकासुन्दरीको गोठिज्युला गाडतार्ना लुड्कु गाउँहुँदै ऐतिहासिक कनकासुन्दी मन्दिर जोडने ४ सय ५० मिटर सडकलाई आरसीसी गरिने छ भने ‘नागराज लोकमार्ग’ निर्माण क्रमागत योजनाका रूपमा अघि बढ्ने जनाइएको छ।
‘नागराज लोकमार्ग’ निर्माण पश्चात मुगु रारा ताल हुँदै सिंजाको कनकासुन्दरी मन्दिर दर्शन गर्ने पर्यटकका लागि सहज हुनेछ। इतिहास झल्किने व्यक्ति र सम्पदालाई जोडेर निर्माण गरिने पूर्वाधारले पर्यटन प्रवद्र्धन गर्नुका साथै पहिचान स्थापित हुने स्थानीयको भनाई छ।