काठमाडौं। काठमाडौं महानगरपालिकाले छुट्टै महानगरपालिका ऐन आवश्यक रहेको निष्कर्ष निकालेको छ। आइतवार बसेको महानगरपालिकाको कार्यपालिका बैठकमा सहभागी वडाध्यक्षहरुले देशभरका महानगरपालिकाका लागि छुट्टै ऐन र नीति आवश्यक रहेको धारणा राखेका हुन् ।
अहिले देशभर ६ वटा महानगरपालिका रहे पनि स्पष्ट ऐन र क्षेत्राधिकारको अभावमा काम गर्न अप्ठ्यारो भइरहेको उनीहरुको भनाइ छ।
बैठकमा मेयर बालेन शाहले काठमाडौंको सुन्धारामा रहेको सुनको धारामा प्राकृतिक पानी नै झार्ने व्यवस्था गरिने बताए । सुन्धारामा टुँडीखेलको भूमिगत पानी खसाल्ने परम्परागत संरचनालाई नै निरन्तरता दिइने उनले प्रष्ट पारे।
टुँडीखेल नेपाली सेनाको स्वामितत्वमा रहेकोले यस बारेमा प्रधान सेनापतिसँग भेटवार्ता गरि आवश्यक समन्वयका लागि अनुरोध गरिएको मेयर शाहले बताए। उनले केयुकेएल र मेलम्ची खानेपानी परियोजनासँग आवश्यक प्रविधि सहयोगका लागि अनुरोध गरिएको जानकारी दिए।