काठमाडौं। कालीगण्डकी कोरिडोरमा बारम्बार पहिरो खस्ने समस्याले यात्रु र सवारीलाई समस्या पर्ने गरेको छ। यसअघि नेपाली सेनाले बम विस्फोट गरी कोरिडोरको हर्मिचौर–पूर्तिघाट सडकखण्ड सामान्य अवस्थामा फर्काए पनि पानी परेपछि पहिरो खस्ने समस्या यथावत् रहेको छ। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापा कोरिडोरमा बारम्बार पहिरो खस्ने समस्याले यात्रु र सवारीलाई समस्या पर्ने गरेको बताए।
विगतका वर्षहरूदेखि यो समस्याले सताएको स्मरण गराउँदै उनले पहिरो पन्छाउन गाउँपालिकाले धेरै बजेट खर्चिनुपरेको उनको भनाइ छ। स्थानीय सरकार भएकाले पनि बाटोलाई पहिरोका कारण अवरुद्ध राख्न मिल्दैन, उनले भने, सडक खुलाउन धेरै रकम खर्चिन बाध्य छौँ।
यो सडकमा नियमित डोजर तयारी अवस्थामा राख्नुपर्ने बाध्यता भएको बाध्यता छ। कति बेला कहाँ पहिरो जान्छ भनेर डोजर तम्तयार राख्नुपरेको उनले बताए।
कोरिडोर सडक पानी परेपछि पहिरो झर्ने समस्याले गर्दा हर्मिचौरदेखि गाउँपालिका केन्द्र पूर्तिघाटसम्म कार्यालय कामले आवतजावतमा समेत समस्या हुने गरेको स्थानीय तिलक रानाले गुनासो गरे। यता कालीगण्डकी कोरिडोर गैडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना मर्मत सम्भारका लागि बजेटको माग गरिएको सम्बद्ध अधिकारी कल्पना अधिकारीले बताईन।
आजको गोरखापत्र दैनिकबाट