काठमाण्डौं। तनहुँमा दुईवटा पालिका जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ। तनहुँको व्यास नगरपालिका–७ र म्याग्दे गाउँपालिका–६ जोड्ने साँघेखेलामा झोलुङ्गे पुल निर्माण गरिएको हो।
नेपाल सरकार र म्याग्दे गाउँपालिकाको कूल ४३ लाख १० हजार ६१ को लागतमा उक्त पुल निर्माण गरिएको हो। नेपाल सरकारको ८५ प्रतिशत र म्याग्दे गाउँपालिकाको आन्तरिक स्रोतबाट १५ प्रतिशत बजेट विनियोजन भएसँगै निर्माण थालिएको खोला लामेरह पानी घट्टा झोलुङ्गे पुल निर्माण समितिले जनाएको छ।
विसं ०७८ चैत १३ गते सुरु गरी विसं ०७९ असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सठसठ्ठी मिटर लामो पुल निर्माणपछि दुई पालिकाका करिब पाँचसय मानिसहरु प्रत्यक्ष लाभान्वित हुने बताईएको छ।
गैरसरकारी संस्था समन्वय समितिले पुल निर्माणका लागि परामर्श र प्राविधिक सहयोगको भूमिका निर्वाह गर्दै आएको छ। उक्त स्थानमा पुल नहुँदा बर्सेनि मानवीय क्षतिसमेत हुँदै आएकाले विगत लामो समयदेखि पुल निर्माणका लागि स्थानीयवासीले माग गर्दै आएका थिए। पुल निर्माणपश्चात् म्याग्दे गाउँपालिका–६ सर्वालाङ्गका बासिन्दाले एक घण्टा हिँड्नुपर्नेमा बाध्यता अन्त्य हुनाका साथै छोटो दूरीमा आवतजावत गर्न पाउने भएका छन्।