डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न गुरु योजना निर्माण गरिने बताएका छन्। शुक्रबार महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन गरेर गुरु योजना निर्माण गरिने बताएका हुन्।
सुदूरपश्चिम विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले प्राज्ञिकस्तर वृद्धिमा जोड दिए। मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल र सुदृढ बनाउन अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक युग सुहाउँदो, वैज्ञानिक प्रविधि जनशक्ति उत्पादनमा गर्नुपर्ने आजको आवश्यकता रहेको औँल्याए । व्यावसायिक र प्रविधिमैत्री शिक्षाको स्तर वृद्धि गर्नुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेश विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले यसै वर्षदेखि विश्वविद्यालयमा चिकित्साशास्त्र संकायको सुरुवात गरिने समेत बताए। उनले सरकारले विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट समेत व्यवस्थापन गरिएको बताए । सुदूरपश्चिम प्रदेश विश्वविद्यालयले निम्न तथा मध्य आय भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरी उनीहरूको जीवनमा योगदान पुर्याइरहेको समेत दाबी गरेका छन् ।