काठमाडौं। धरान उपमहानगर प्रमुख हर्कराज राईले खानेपानीको लागि पकुवा खोलामा श्रमदान गरेका छन्। उपमहानगर प्रमुख भएपछि खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित भएका राई शनिबार श्रमदान गर्न खोलामा पुगेका हुन्।
धरानको मुख्य समस्या खानेपानी हो। यो विषय हरेक चुनावको एजेन्डा बने पनि पानी वितरण गर्न भने कसैले सकेका छैनन्।
उपमहानगर प्रमुख राईको चुनावको मुख्य एजेन्डा खानेपानी नै थियो। सोही अनुरुप प्रमुख पदमा निर्वाचित भएपछि उनी पानीको जोहो गर्न लागेका हुन्।
खानेपानी ल्याउन इञ्जिनियरसहित पकुवा खोलामा पुगेर धराने जनताको सहकार्यमा शनिबार श्रमदान गरेका छन्।
दीर्घकालीन लक्ष्य भनेको सप्तकोशीबाट पानी ल्याउने भएपनि हालको समस्या समाधान गर्नका लागि धरान वरपर भएका पानीका मुहानबाट समस्याको समाधान गर्ने तयारी भएको बताईएको छ।
शनिबार दिउँसो खानेपानी व्यवस्थापन बोर्डका इञ्जिनियर र धराने जनतासँग सहकार्य गर्दै धरानको वडा नम्बर २० स्थित पकुवा खोलाको मुहान क्षेत्रमा प्रमुख राई प्गेका हुन्।
पकुवाबाट खानेपानी आपूर्ति गर्न यसअघि नै प्राविधिकको टोलीले अध्ययन गरिसकेको छ। सोही अध्ययनलाई अन्तिमरुप दिन प्रमुख राई आफै इञ्जिनियरसहित स्थलगत निरीक्षणमा पुगेका हुन्।
करिब पाँच लाख हाराहारीको लागतमा पकुवाको पानी धरानमा ल्याउन सकिन्छ। त्यसका लागि मुहान क्षेत्रमा इन्टेक बनाउने र पाइपमार्फत् धरान ११ मा वितरणको लागि पानी पुर्याउन सकिने इन्जिनियरले बताएका छन्।