काठमाडौं। गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका– ११ राङ्बास र गुल्मीबार गाउँपालिका–६ जोड्ने पुल निर्माण सम्पन्न भएको छ। जाबुने ट्रसपुलको निर्माण कार्य सम्पन्न भएको हो।
रेसुङ्गा नगरपालिकाको सिमिचौर–राङ्बास हुँदै गुल्मीदरबार–६ लाई जोड्न बठवाखोलामा २४ मिटर लम्बाइ रहेको ट्रसपुल निर्माण भएपछि स्थानीयहरु निकै खुसी भएका छन्।
पुल निर्माण भएपछि वर्षायामको समयमा स्थानीयहरुलाई आवतजावत गर्न धेरै सहज हुने बताईएको छ। वर्षायामको समयमा खोलो बढ्दा वारीपारी गर्न निकै समस्या भएको स्थानीयले बताए। यहाँ पुल निर्माण हुँदा आवतजावतमा मात्र नभई घास, दाउरा ल्याउन पनि सहज भएको उनिहरुको भनाई छ।
रेसुङ्गा नगरपालिकाको–११ र गुल्मीदरबार–६ लाई जोड्ने उक्त ट्रसपुल २४ लाख ८२ हजार ९ सय ९२ रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न भएको हो। पुल निर्माणसँगै त्यस क्षेत्रका १३५ घरधुरी लाभान्वित भएका छन्।
पुल निर्माणका लागि रेसुङ्गा नगरपालिका तथा उपभोक्ता समितिबीच सम्झौता भई ०७८ फागुन ६ गते देखि निर्माण कार्य सुरु गरिएको थियो। सम्झौता अनुसार यही असार १५ गतेसम्म निर्माण कार्यको म्याद थियो। म्याद अघि नै निर्माण कार्य सम्पन्न भएको छ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले निर्माण भएको उक्त ट्रसपुलको एक कार्यक्रका बीच उद्घाटन गरेका हुन्े। ट्रसपुलको उद्घाटन गर्दै नगरप्रमुख पन्थीले विकासका काममा कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताए।