काठमाडौं। नेपालगन्ज उपमहानगरपालिका २ जमुनाह–सुर्खेत राजमार्ग (सुर्खेत रोड) कर्णाली विकास बैंकको सामुन्ने रहेको कल्भर्ट भासिएको छ। कालोपत्रे गरिएको केही महिनामै सोही ठाउँमा पुनः भासिएको हो।
कल्भर्ट भासिँदा मुनि रहेको पानीको पाइप पनि फुटेको छ। सुर्खेत रोड विस्तार हुनुअघि उक्त ठाउँमा एउटा कल्भर्ट थियो। सडक विस्तारका क्रममा उक्त कल्भर्ट भत्काएर नयाँ कल्भर्ट निर्माण गर्नुपर्नेमा त्यसो नगरी पुरानो कल्भर्टको संरचनालाई जस्ताको तस्तै राखेर त्यसैमाथि ढलान गरिएको थियो। पप्पु कन्ट्रक्सनले निर्माण गरेको उक्त सडक खण्ड गुणस्तरीय नबनेको भन्दै आलोचना हुँदै आएको छ। पुराना कल्भर्ट जस्ताको तस्तै राखेर त्यसैमाथि ढलान गरेर बनाइएकोमा भासिने समस्या देखिन थालेको छ।
सडक डिभिजनले गत मंसिरमा उक्त ठाउँमा माथिबाट कालोपत्रेको टालो हालेको थियो। तर टालो हालेको ६ महिनामै पुनः भासिइसकेको छ। सडक डिभिजन कार्यालय नेपालगन्जले भासिएको ठाउँलाई तत्काल सुधार गरिने जनाएको छ। नेपालगन्ज उपमहानगरपालिका जनप्रतिनिधि र स्थानीयले भने नयाँ संंरचना बनाउनुपर्ने माग गरिरहेका छन्।