काठमाडौं। प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेदवारी दिनेहरुको लहर बढेको छ। विशेषगरी काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरुको लहर बढेको हो।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौं–४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । ०७४ को निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सफलतासँगै काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरुको घोषणा बढिरहेका बेला क्षेत्र नम्बर ४ मा युवा इन्जिनियर पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन्। क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन्।
पोखरेलले आफ्नो तीन चरणको घरदैलो मध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट शुरु भएको बताए। उनले पहिलो घरदैलोमा समस्या के हो भने घरघरमा गएर बुझ्ने बताए। ती समस्याहरुको बारेमा आफ्नो विज्ञ समूहले अध्ययन गरेर दोस्रो चरणमा समाधानका उपाय ल्याउँने र तेस्रो चरणमा मत माग्न घरघरमा आउँने उनले बताए।
आफूसँग विकासको एजेण्डा रहेको भन्दै पाँच बुँदे सूत्र सुनाए । पोखरेलले आफू कसैलाई गाली गरेर नेता बन्न नचाहेको तर विकास गर्न सक्ने योजना रहेको बताए । विकास गर्नका लागि भनेर हुने र गरेर हुने दुई प्रकारका एजेण्डा रहेको भन्दै उनले बालेन शाहले भनेकै भरमा सार्वजनिक शौचालय उपलब्ध भएको बताए। उनले पर्खनु विकल्प हुँदै होइन भन्ने नारालाई अघि सारेका छन्।
पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणामा उपस्थित भएका अभिनेता आर्यन सिग्दलले परिवर्तनका लागि युवालाई अघि सार्नुपर्ने भएकाले इन्जिनियर पोखरेललाई आफ्नो समर्थन रहेको बताए । स्वतन्त्र भनेर आफू एक्लो नभएको उम्मेदवारी घोषणाका क्रममा पोखरेलले बताए।