काठमाडौं। कुलेखानी खोलामा बाँध बनाएर दैनिक १५ करोड लिटर खानेपानी काठमाडौं ल्याइने भएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरिक्षण गरेर पानी ल्याउने योजना बताएका हुन्।
सरकारले उपत्यकाको बढ्दो खानेपानीको मागलाइ ध्यानमा राख्दै कुलेखानीबाट पानी काठमाडौं ल्याएर वितरण गर्ने योजना बनाएको छ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले यो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको छ।
मन्त्री चौधरीले वर्षा र बाढीका कारण मेलम्चीको पानी सुन्दरीजलतर्फ पथान्तरण गर्न नसक्ने अवस्थामा र सुख्खायाममा पानीको माग बढेको बेला कुलेखानी खोलाको पानी उपत्यकामा दैनिक करिब १५ करोड लिटर वितरण गर्न सकिने बताएका छन्। उनले कुलेखानीको पानी दीर्घकालिन रुपमा बाँध बाँधेर काठमाडौं लैजाने र अल्पकालिन रुपमा दुइ वर्षभित्रै लिफ्टिङ गरेर लैजान सकिने बताए।
काठमाडौं उपत्यका खानेपानी खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजिव बिक्रम राणाले सिस्नेरी खोलामा बाँध निर्माण गर्ने स्थल भौगोलिक रुपमा उपयुक्त भएको बताए। उनका अनुसार उक्त स्थानमा बाँध बनाउँदा वातावरणीय प्रभाव न्यून रहेको र थोरै समुदाय मात्र प्रभावित हुनेछन्। पाइपलाइ विस्तार गर्न काठमाडौं-तराइ-मधेश द्रूतमार्गको किनारा प्रयोग गर्न सकिनेछ।
काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिब १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र वाग्मती नदीनजिक रहेको प्रस्तावित बाँधस्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा दैनिक करिब १५ करोड लिटर पानी पठाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको छ।
दीर्घकालिन रुपमा आयोजना संचालनको लागि करिब २६ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको बार्डले जनाएको छ।