काठमाडौं। तानसेनको भैरवस्थान अहिले आन्तरिक र बाह्य पर्यटकको राम्रो गन्तब्य बनेको छ। उक्त मन्दिर ब्यस्त र तनावमा रहेका स्थानीयलाई समेत मन बहलाउने राम्रो स्थान भएको हो।
प्राकृतिक दृश्य अवलोकनका लागि आउने पर्यटकलाई भैरवस्थान मन्दिरले थप आकर्षण गर्ने गरेको छ। पाल्ला तानसेनको रिब्दिकोट गाउँपालिकामा रहेको यस मन्दिरमा पाल्पाबाट झर्ने र रुपन्देहीबाट निस्कने आन्तररिक पर्यटकको दैनिक भीड लाग्ने गरेको छ।
भैरवस्थानमा गएर माया नसाटेका यस क्षेत्रका प्रेमी प्रमिका त सायदै होलान्। दिनहुँ विहे, वर्तवन्ध, वनभोज गर्नेको जमात पनि यहाँ ठूलो देखिन्छ। बिहान साँझ व्यायाम गर्न र चिसो पानीमा नुहाउन जानेको पनि ठूलै लर्को हुन्छ।
तानसेन बजारबाट १० किलोमिटरमा पर्ने भैरवस्थान मन्दिर रिब्दिकोट गाउँपालिका ४ मा पर्दछ। भैरवस्थान पर्यटकीय क्षेत्र मात्र होइन पवित्र तीर्थस्थल पनि हो। एसियाकै सबैभन्दा ठूलो त्रिशूल राखिएको उक्त मन्दिर १६औं शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले स्थापना गरेका हुन्।
उक्त मन्दिरमा एक पटक दर्शन गरेमा पाप पखालिने धार्मिक विश्वास छ। यही विश्वासका साथ नेपालसँगै भारतका हिन्दु धर्मावलम्वी यहाँं आउने गर्छन्। मन्दिरमा शिवरात्री, एकादशी र वैशाख महिनाको प्रत्येक शनिबार भीड लाग्छ।