काठमाडौं। सम्झौता गरिएको समयभन्दा अगाडीनै सडक निर्माण सम्पन्न भएको छ। ढिलासुस्तीका कारण धेरैजसो विकास आयोजना थलिएका म्याग्दीमा एउटा सडक निर्माण भने लक्ष्यअघिनै सकिएको हो।
निर्माण व्यवसायीमा इच्छाशक्ति, कार्यस्थलमा काम गर्ने वातावरण, सम्बन्धित निकायको सहजीकरण र समन्वय हुने हो भने ढिलासुस्ती हटाउन सकिने उदाहरण बेनी नगरपालिकाको गलेश्वर–काउलेगौडा–गिठिनी–पात्लेखेत सडक योजना बनेको छ। बेनी नगरपालिका–९ काउलेगौडा क्षेत्रमा सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा सञ्चालन भएको योजना सम्झौता भन्दा दुई महिनाअघिनै सकिएको नगरपालिकाले जनाएको छ।
गत मङ्सिरमा ठेक्का सम्झौता भएको योजनाको काम २०७९ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो। निर्माण व्यवसायीले २०७८ चैतमै काम सकेर हस्तान्तरण गरेका छन्। रु दुई करोड ३० लाख विनियोजन गरिएको सो सडक निर्माण गर्न पर्वतको बुद्ध निर्माण सेवाले २०७८ मङ्सिर २६ गते रु एक करोड ४३ लाख ५९ हजारमा ठेक्का सम्झौता गरेको थियो।
यसरी समयमा नै अथवा भनौ सम्झौता अवधी भन्दा अगाडी नै निर्माण कार्य सम्पन्न गर्ने गरी कामलाई अगाडी बढाउने हो भने स्थानीयलाई सहज मात्र नभएर निर्माण कम्पनीलाई अझ बढी विश्वास गर्न सकिने वातावरण पनि सिर्जना हुन्छ। जसको कारणले विकास निर्माण पनि अगाडी बढ्ने देखिन्छ।