काठमाडौं। जाजरकोटको भेरी नगरपालिका १० भुरचौरबासी लिप्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन्। गत वर्षदेखि सञ्चालित लिप्ट खानेपानी आयोजनाको पानी घर आँगनमै पाउँदा भुरचौरबासी खुसी भएका हुन्।
पुस्तौँदेखि भेरी नदीको धमिलो पानीमा जीवन निर्वाह गरेका स्थानीयबासी स्वच्छ सफा पानी पाउँदा निकै खुसि भएका छन्। पानी लिन डोको नाम्लोको सहारामा घण्टौं हिँडेर भेरी नदीको धमिलो पानी खाने गरेका नागरिक घर आँगनमै पानी पाउँदा घरायसी काममा सहजता आएको स्थानीयले बताए।
पानी पाएपछि १३५ घरपरिवार बसोबास गर्दै आएको भुरचौरमा पानीको पिरलो हटेको स्थानीयले खुसि हुँदै बताए। खेतीयोग्य जमिन भए पनि सिँचाइ नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटबाट भुरचौरमा लिप्ट खानेपानी आयोजनाको लागि ४० लाख, चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेको थियो।
७५ प्रतिशत काम सम्पन्न भएर २५ प्रतिशत काम बाँकी रहेको केही समयमा सबै काम सम्पन्न हुने नगरपालिकाले जनाएको छ।