तनहुँ। करिब तीन करोडको लागतमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ सङ्गम टोलमा शीतभण्डार निर्माण कार्यलाई तीव्रता दिइएको छ। कृषकले उत्पादन गरेका कृषिउपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्न सक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण थालिएको हो।
शुक्लागण्डकी नगरपालिकाले यसलाई गौरवको योजनाको रुपमा सूचिकृत गरेको वडा कार्यलयले जानकारी दिएको छ्। । शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले रु एक करोड सशर्त अनुदान बजेट उपलब्ध गराएको र नगरपालिकाले रु दुई करोड लगानी गरी गत वैशाखदेखि निर्माण सुरु गरिएको शीतभण्डारको कामलाई तीव्रता दिइएको हो।
हाल लामो समयदेखि लालिमस्थित सिर्जनशील महिला समाजले संरक्षण गर्दै आएको सार्वजनिक जग्गामा शीतभण्डार निर्माण भइरहेको छ। नगर क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता परेको थियो। त्यसैले शीतभण्डार निर्माणको योजनालाई अगाडी बढाइएको हो।
किसानले उत्पादन गरेका आलुको उचित मूल्य पाउन गाह्रो भएको कारण किसानहरु चिन्तित भएका थिए। तर शीतभण्डार निर्माण सम्पन्न भएपछि यो समस्या हट्नेछ। चालु आर्थिक वर्षभित्रै शीतभण्डारको काम सम्पन्न गरी नगरपालिकामा उत्पादन हुने आलु, अदुवालगायत वस्तुलाई यसै वर्ष भण्डारण गर्ने व्यवस्था मिलाइने कुरा वडा कार्यलयले जानकारी गराएको छ्।
कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सो वडामा आलुको बीउ वितरण गरिएको थियो। उक्त नगरपालिकाले आलु उत्पादनलाई प्राथमिकतामा राखेको छ। शीतभण्डार नहुँदा समस्या भोगेका किसान शीतभण्डार निर्माण सुरु भएपछि खुशी भएका छन्। शीतभण्डार निर्माण सम्पन्न भएपछि उत्पादनको उचित मूल्य पाउने कृषकले बताएका छन्।