काठमाडौं। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ र ६ वडामा सिँचाई, खानेपानी योजना निर्माण भएको छ। योजना सम्पन्न पश्चात वडा ५ को धनेखोला टोलका घरघरमा खानेपानी र बल्लेबासमा सिँचाई सुविधा पुगेको हो।
बल्लेबास पाईप सिँचाई उपआयोजना र धनेखोला मुहान संरक्षण तथा खानेपानी उपआयोजना निर्माण सम्पन्न गरेर खानेपानी र सिँचाईको समस्या समाधान गरिएको हो।
बर्षौदेखि खानेपानीको समस्या रहेको टोलका घरघरमै पानीका लागि धारा जोडेर स्थानीयलाई सहज भएको छ। स्थानीयले घरदेखि डेढ घण्टाको दूरीमा रहेको खानेपानी मुहान संरक्षण गरेर घर–घरमै खानेपानीको धारा जोड्न पाउँदा खुशी लागेको बताए।
वत तथा वातावरण मन्त्रालयको पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा) को सहयोगमा गाउँमा खानेपानी र सिँचाई योजना पूरा गरिएको हो। आशा आयोजनाले आयोजनाको ११ लाख ९१ हजार १०३ र स्थानीय समुदायको दुई लाख ९७ हजार ७७६ रकम बराबरको श्रमदानबाट बल्लेबास पाईप सिँचाई उपआयोजना निर्माण गरेको बताएको छ।
त्यसैगरी धनेखोला मुहान संरक्षण तथा खानेपानी आयोजनामा आशा आयोजनाको सात लाख ११ हजार ८९२ रकम लगानी भएको छ। जनश्रमदानबाट एक लाख ७७ हजार ९७३ रुपियाँ बराबरको लगानी छ।
सानीभेरी गाउँपालिकाकै वडा ६ मा तीन वटा खानेपानी र सिँचाई आयोजना सम्पन्न भएको छ। सिँचाई आयोजना निर्माण सम्पन्न भएपछि आयोजनाबाट ३९ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। करिब १२४ रोपनी जमिनमा सिँचाई सुविधा पुगेको स्थानीयले बताए।